कोशीको विद्रोह प्रकरणमा गगन र विश्वप्रकाशले राखे फरक मत
काठमाडौँ — कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशीको प्रदेश सरकार गठनको विषयमा औपचारिक रूपमै फरक मत दर्ज गराएका छन् । सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले कोशीको सरकार बनाउने सन्दर्भमा सभापतिले लिएको निर्णय र त्यसविरुद्व भएको विद्रोहका कारण बनेको मानक दुवै गलत भएको र त्यसको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने बताएका हुन् ।
सभापतिले देउवाले लिएको निर्णयमा आफूहरूको संलग्नता नभएको समेत उनीहरूले प्रस्ट्याएका छन् । कोशीमा त्यो परिस्थिति हुनुका पछाडि सबैभन्दा धेरै कमजोरी सभापतिबाटै भएको उनीहरूको निष्कर्ष छ । सभापति देउवाले सोमबार अपराह्न पार्टीका उपसभापति र महामन्त्रीहरूलाई छलफलका लागि बोलाएका थिए ।बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।
बैठक कोशी प्रदेशको विषयमै केन्द्रित भएको नेताहरूले बताएका छन् । सभापति देउवासँगको छलफलपछि महामन्त्री शर्माले सभापति र पार्टीभित्र फरक मत समूहको नेतृत्व गर्ने नेता दुवैले गलत गरेको बताए । उनले आइतबार सामाजिक सञ्जालबाट पनि त्यही कुरा उल्लेख गरेका थिए ।
‘एमालेसहितको गठबन्धन बन्नुपर्छ भनेर हामीले जोड दिएका थियौँ । त्यो भनेको माओवादी केन्द्रसँगको गठबन्धन तोड्ने भनिएको थिएन,’ महामन्त्री शर्माले भने, ‘तर हाम्रो जोड जोडमै रह्यो । सभापतिले गर्नुभएको निर्णयमा हाम्रो संलग्नता र सहमति नै थिएन । तर माओवादी केन्द्रले पाउँदा माओवादीलाई सहयोग नै गर्न नसकिने भन्ने पनि थिएन । उहाँहरूले पनि हुँदा खाँदाको छोडेर दुई-दुई पटक हामीलाई सहयोग गर्न आउनुभएकै थियो । जब विधिवत निर्णय हुँदैन, त्यस्तो अवस्थामा पनि सभापतिले गरेको निर्णय मान्ने हाम्रो दलीय अभ्यास नै हो । हामीले त्यहीअनुसार दलको निर्णय लागू गर्न पनि प्रयास गरेकै थियौँ । तर सभापतिले गरेको निर्णयको विरोध भयो र ८ जना साथीहरूले विद्रोह नै गर्नुभयो । र यो अवस्थामा छौँ ।’
उनले कोशीको प्रकरणमा आफूहरूमाथि आरोप लगाइएकोप्रति असन्तुष्टि राखे । महामन्त्री शर्माले नेता शेखर कोइरालाले कांग्रेसको भागमा परेको मुख्यमन्त्री महामन्त्रीहरूसहितको मिलेमतोमा माओवादीलाई दिएको भनेर आरोप लगाएकोप्रति खण्डन गरे ।उनले त्यसबारे कोइरालाले प्रस्टसमेत पार्नुपर्ने बताए ।
सोमबार सभापति शेरबहादुर देउवासँग भेटेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले अहिलेको अवस्थामा कुनै पनि प्रदेशको मुख्यमन्त्री कांग्रेसले मात्रै पाउने अवस्था नरहेको बताए । उनले पार्टीले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेकोमा आफूहरूको संलग्नता नै नभएको समेत स्पष्ट पारे ।
‘कुनै प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा वा अर्कोको भागमा परेको भन्ने अवस्था नै छैन । त्यो कांग्रेसको भागको दिएको होइन । त्यो कांग्रेसको भागमा छँदै थिएन । कुनै प्रदेशमा कांग्रेसको भाग सिंगै हुनका लागि हामीले बहुमत ल्याएको हुनुपर्यो,’ शर्माले भने, ‘सबै प्रदेश कांग्रेसलाई चाहिएको हो भने हामीले भविष्यमा बहुमत ल्याउन आवश्यक छ ।’
कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हाल मुख्यमन्त्री नियुक्त भएका छन् । जबकि कांग्रेस सभापति देउवाले भने माओवादी केन्द्रलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरिसकेका थिए ।
तर नेता कोइरालाले विद्रोह गरेर कार्कीलाई मुख्यमन्त्री बन्न सघाएपछि अहिले कांग्रेसभित्र तरंग छ । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।
महामन्त्री शर्माले कोशीमा अहिले जे भयो, त्यसको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने र त्यसप्रकारको घटना भविष्यमा दोहोरिन नदिनुपर्ने बताए । ‘अहिले जे भएको छ, त्यो घटनामा सभापति र फरक मत समूहको नेताले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । उहाँहरू सुध्रिन आवश्यक छ । किन यो प्रकारको दुर्घटना भयो, …यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ,’ सभापतिसँगको छलफलमा आफूहरूले राखेको विषयबारे शर्माले भने ।
उनले बैठकमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे भने अहिले कुनै छलफल नभएको बताए ।


















