ताप्लेजुङ गोल्डकप फाइनल यात्रामा मोरङ

ताप्लेजुङ, भदौ ७ गते । आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाइनलमा सङ्घर्ष स्पोर्टिङलाई २–१ को गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल पुगेको हो ।
निर्धारित ९० मिनेटको समयावधिमा दुवै टोली एक–एक गोल बराबरीमा रोकिएका थिए । थप भएको १५ मिनेटको अतिरिक्त समयमा सगरमाथा युथको तर्फबाट गोल गर्न सफल भएपछि मोरङले फाइनल यात्रा सुनिश्चित गरेको हो । मोरङको जितका लागि खेल सुरु भएको ९ औं मिनेटमा र थपिएको अतिरिक्त समयमा दुवै गोल मिलन राईले गर्नुभएको छ ।
दुवै टोलीले तीब्र प्रतिस्र्धात्मक खेल प्रदर्शन गरेको भए पनि अतिरिक्त समयमा गोल गर्न नसक्दा सेमीफाइनल खेलेर सङ्घर्षको प्रतियोगिताको यात्रा टुङ्गिएको छ । क्वार्टरफाइनलमा भारतको सिलिगुढीलाई पराजित गर्दै आयोजक टोली सङ्घर्ष स्पोर्टिङ र बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई पराजित गर्दै मोरङ विजयी भएका थिए । शुक्रबारको खेलमा मोरङका मिलन राई सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै राईले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
अब शनिबार हुने दोस्रो सेमीफाइनल खेल बिर्तामोड युनाइटेड फुटबल क्लब झापा र सलहेश युवा क्लब सिराहाबिच हुने छ । बिर्तामोडले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र सिराहाले पाँचथर फुटबल क्लबलाई हराउँदै सेमीफाइनलमा पुगेका हुन् ।
यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भदौ १० गते सोमबार हुने छ ।