ताप्लेजुङ गोल्डकप विर्तामोडसँग त्रिभुवन आर्मी स्तव्ध

ताप्लेजुङ, भदौ ६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा विर्तामोड युनाइटेड फुटबल क्लब झापासँग त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं स्तव्ध भएको छ । बिहीबारको खेलमा विर्तामोड युनाइटेडसँग ३–० गोलअन्तरले त्रिभुवन आर्मी पराजित भएको हो ।
खेलको मध्यान्तरसम्म गोलरहित बराबरी खेलेका दुवै टोलीले मध्यान्तरपछि सुरुमै अर्थात खेलको ४६ औं मिनेटमा विर्तामोड युनाइटेडका अविशेक गुरुङले गोल गर्नभयो । गुरुङको पहिलो गोलबाट अग्रता लिएको विर्तामोड युनाइटेडका तर्फबाट ६४ औं मिनेटमा देवेन्द्र तामाङले दोस्रो र ६६ औं मिनेटमा युसेफ थपलियाले तेस्रो गोल गर्नुभयो ।
त्रिभुवन आर्मीका तर्फबाट कुनै गोल नभएपछि अन्ततः विर्तामोडको जितमा ३–० को गोलअन्तर रहनपुग्यो । बिहीबारको खेलमा विर्तामोड युनाइटेडका गोलकर्तासमेत रहेका देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको क्वार्टर फाइनलअन्तर्गतको अन्तिम खेल विर्तामोड युनाइटेड र त्रिभुवन आर्मीले खेलेका हुन् । हजारौं दर्शकको समर्थनबिच दुवै टोलीबाट उत्कृष्ट र आकर्षक खेल प्रदर्शन भए पनि गोल गर्न असफल हुँदा त्रिभुवन आर्मीले प्रतियोगिताबाट बाहिरिनुपरेको छ । अब शुक्रबारदेखि सेमीफाइनल चरणको खेल सुरु हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सेमीफाइनल पुगेका आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लब फुङ्लिङ र सगरमाथा युथ क्लब मोरङबिच प्रतिस्पर्धा हुने छ । त्यस्तै बिहीबारको बिजेता विर्तामोड युनाइटेड र सलहेस युवा क्लब सिराहाबिच दोस्रो सेमीफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको फाइनल भदौ १० सोमबार हुने छ ।
यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।